के तपाईंको शरीर पहेंलो देखिन थालेको छ ? शंका लागेमा एकपल्ट आँखाको सेतो
भागमा जांच गरी हेर्नुस त । तपाईंलाई जन्डिस लागेको हुन सक्छ । साथमा और कुनै समस्याहरु त छैनन् ? ज्वरो आउने , जीउ
दुख्ने या कमजोरीको महसुस त गर्नुभएको छैन
? अनि दिशा- पिशाब कस्तो आउँछ ? सेतो दिशा या गाढा पहेंलो पिशाब त आउँदैन ? शरीर
निकै चिलाउन त थालेको छैन ? होश पुर्याउनुस , यो तपाईंको कुनै खतरनाक रोगको संकेत
हुन सक्छ ।
जन्डिस आफैमा एउटा रोग होइन , यो त कुनै अर्को रोगको संकेत हो ? यो त शरीरको
क्रिया- प्रक्रियामा आएको खलबलीको सूचना हो ? यो सूचना लिन जति ढीलो गर्नुहुन्छ
त्यति नै तपाईंको शरीरको आयु कम हुँदै जान्छ । त्यसैले यो संकेतको बारेमा सामान्य जानकारी राख्न निकै जरुरी
छ ।
जन्डिसमा शरीर पहेंलो देख्नुको कारण हो शरीरमा भएको बिलिरुबिन ( Bilirubin ) तत्व बढ्नु । बिलिरुबिन रगत नष्ट भएपछि आउने उत्पाद हो । रगतमा भएको हीमोग्लोबिन ( hemoglobin ) तत्व हीम ( heme ) र ग्लोब्युलिन ( globulin) मिलेर बनेको हुन्छ । रगत पुरानो तथा जीर्य भएपछि शरीरमा यसको नष्ट गरिन्छ र नतिजाको रूपमा हीम र
ग्लोब्युलिन निस्कन्छ । हीमलाई अझ नष्ट गरि फलाम तत्व र
बिलिवर्दीन ( biliverdin ) मा
विभाजन गरिन्छ । ग्लोब्युलिन र फलाम तत्व शरीरमा पुनः
प्रयोग गरिन्छ भने बिलिवर्दीनबाट अक्सिजन निकाली बिलिरुबिन बन्छ । यसरी निस्केको बिलिरुबिन शरीरको लागि
विषाक्त हुन्छ , त्यसैले यसलाई फ्याक्न जरुरी हुन्छ । तर बिलिरुबिन पानीमा नघुलने भएको हुनाले यो पिशाबबाट शरीर बाहिर निस्कन्न । त्यसैले कलेजोमा यसलाई ग्लुकुरोनिक एसिड ( glucuronic acid ) संग मिलाप गरी बिलिरुबिन
ग्लुकुरोनाइड ( bilirubin glucuronide ) मा परिवर्तन गरिन्छ र बाइल ( bile ) को रुपमा पित्तको नली हुँदै आन्द्रामा फालिन्छ । आन्द्रामा यसले खाना पचाउन सहयोग गर्छ । आन्द्राको ९०% जति बाइल फेरी शरीरमा शोषिन्छ र पुनः कलेजो हुँदै आन्द्रामा
पाचनक्रियाको लागि फालिन्छ । यसरी शरीरमा बिलिरुबिन पदार्थको
मात्रामा सन्तुलन राखिन्छ । शरीरको यो सन्तुलन खल्बल्याउने
कुनै पनि रोगले शरीरमा जन्डिस गराउँछ ।
बिलिरुबिनको मात्रा व्यानडेन बर्ग प्रक्रिया ( van den berg reaction) द्वारा मापन गरिन्छ । यसले प्रत्यक्ष र
अप्रत्यक्ष बिलिरुबिन ( direct and indirect bilirubin ) को
मात्रा माप गर्छ । प्रत्यक्ष बिलिरुबिन भनेको कलेजोमा परिवर्तित बिलिरुबिन
ग्लुकुरोनाइडको मात्रा हो र अप्रत्यक्ष बिलिरुबिन भनेको अपरिवर्तित बिलिरुबिनको
मात्रा हो । रगत बढी नष्ट भएमा अप्रत्यक्ष बिलिरुबिन बढ्छ भने पित्तको नलीमा
रुकावट भएमा प्रत्यक्ष बिलिरुबिन बढ्छ । शरीरमा बिलिरुबिनको सामान्य मात्रा
०.३-१.० mg/dl हुन्छ र यो भन्दा बढी भए जन्डिस भनिन्छ । यदि
बिलिरुबिनको मात्रा ३ mg/dl भन्दा बढी भएमा छाला तथा आँखाको सेतो भागमा
पहेलोपन देखिन्छ ।
छोटकरीमा भन्नु पर्दा जन्डिस निम्न तीन कारणले हुन्छ :
· रगतको बढी नष्ट भएर ( hemolytic jaundice ) : विभिन्न रक्तअल्पत्ता गराउने रोगहरु ( जस्तै thalassemia, hereditary
spherocytosis, sickle cell anemia ) , लीड विषाक्तिकरण , भारी मात्रामा रगत प्राप्त गर्नु ,
शरीरभित्र रगत जाम हुनु इत्यादि
·
कलेजोको रोगको कारण ( hepatocellular jaundice ) : कलेजोको जन्मजात रोगहरु ( जस्तै criggler najjer syndrome,
gilbert syndrome, rotor syndrome, dubin Johnson syndrome ) , कलेजोको संक्रमण ( हेपाटाइटिस ए –
एच ) , कलेजोको क्यान्सर , कलेजो शिरोशिस ( liver cirrhosis ) , नवजात शिशुको जन्डिस ( neonatal jaundice ) इत्यादि , औषधिको कारण हुने जन्डिस
·
पित्तको नलीमा रुकावट भएर ( obstructive jaundice ) : पित्तको नलीको पत्थर , पित्तको नली
या थैलीको क्यान्सर , प्यान्क्रियासको क्यान्सर , प्यान्क्रियाटाइटिस ( pancreatitis ) ,
cholangitis इत्यादि
माथिको सूची अनुरुप जन्डिसका कारणहरु थुप्रै छन् र
सबको बारेमा जानकारी राख्न सम्भव पनि हुन्न । तैपनि यदि केही रोगहरुको बारेमा सामान्य जानकारी राखे तपाईंले आफ्नो जीवनमा
हुने ठुलो दुर्घटना पन्छाउन सक्नु हुनेछ । विशेषगरी यदि जन्डिस
लागेमा यो क्यान्सरको कारण हो या होइन थाहा पाउन जरुरी छ । यदि साथमा खानामा रुची नलाग्ने भएको छ , धेरै तौल घटेको छ , सेतो दिशा आएको छ
या शरीर चिलाउने गरेको छ भने यो क्यान्सर हुने ठूलो सम्भावना हुन्छ र यस्तो बेलामा चांडो भन्दा चांडो चिकित्सककहाँ
देखाउन जरुरी हुन्छ । यस्तो जन्डिस पित्तको नलीमा रुकावट हुनाले हुन्छ त्यसैले यस्तो रोगमा प्रत्यक्ष बिलिरुबिनको मात्रा बढ्ने
गर्छ । चाँडो शल्यचिकित्सा गरेको खण्डमा यसको उपचार गर्न सकिन्छ । पित्तमा भएको
पत्थर पनि जन्डिसको सामान्य कारण हुन् जसमा प्रत्यक्ष बिलिरुबिन बढ्छ । यसको लागि
एन्डोस्कोपी र शल्यचिकित्साको आवश्यकता
रहन्छ ।
यदि साथमा ज्वरो आउने , जीउ दुख्ने , नाक बग्ने संकेतहरु छन् भने यो
हेपाटाइटिस हुने सम्भावना बढी रहन्छ । यस्तो जन्डिस कलेजोको प्रक्रिया गर्ने
क्षमतामा कमी हुनाले हुन्छ त्यसैले यसमा प्रत्यक्ष र अप्रत्यक्ष बिलिरुबिन दुवै
बढ्छ । हेपाटाइटिस को जन्डिस आफै ठिक पनि हुन सक्छ या यसले कलेजोलाई खराब पनि गर्न
सक्छ , त्यसैले सतर्कता अपनाउन आवश्यक हुन्छ । हेपाटाइटिस ‘ए’ र ‘ई’ फोहोर खाना र
पानीको माध्यमबाट सर्ने हुनाले वातावरणमा स्वस्थता ल्याउन जरुरी रहन्छ , साथै
परिवारको अन्य व्यक्तिलाई संक्रमणबाट जोगाउन पनि जरुरी हुन्छ । हेपाटाइटिस ‘बी’, ‘सी’ र ‘डी’ रगत , सुई तथा यौन
सम्पर्कबाट सर्छन् । यी रोगहरु धेरै समयसम्म शरीरमा रही कलेजोमा क्षति पुर्याउन
सक्षम हुन्छ र कलेजोको क्यान्सर गराउन पनि सक्षम हुन्छ , त्यसैले यसको लामो समय
सम्म उपचार गराउन आवश्यक पर्न सक्छ ।
यदि तपाईं पहिलेदेखि कुनै औषधिको सेवन गरिरहनु भएको छ भने त्यो औषधि पनि
जन्डिसको कारण हुन सक्छ । खासगरी टि. भी. को औषधि , दौराको औषधिहरु, दुखाइको
औषधिहरु यसका सामान्य कारणहरु हुन् । यदि
साथमा रक्तअल्पत्ता छ भने सोहि रोगको उपचार गराउन जरुरी हुन्छ । अन्तमा भन्नु पर्दा यदि तपाईंलाई बाल्यकालदेखि नै जन्डिस
लाग्ने गर्छ भने तपाईलाई जन्मजात रोग लागेको हुन सक्छ जसको लागि तपाईंले लामो
समयसम्म उपचार लिन पर्ने हुन्छ ।