जे.ई. खोप

परिचय
जापानीज इन्सेफ्लाइटिस् रोगका विरुद्ध खासगरी दुई किसिमका खोपहरु उपलब्ध छन् जसमा जीवित
तर कमजोर पारिएका (Live attenuated Vaccine)र मृत भाइरस (Inactivated Vaccine)भ्याक्सिनहरु पर्दछन् । हाल राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत नियमित खोप कार्यक्रममा दिईने खोप धूलो पाउडरको रूपमा
(फ्रिजड्राइड पाउडर) उपलब्ध हुन्छ । यो खोप जापानिज इन्सेफलाइटिस् रोगको जोखिम भएका
जिल्लाहरुमा मात्र दिईन्छ ।
बनावट
यो खोप जिवित तर कमजोर पारिएको भाइरस -Live Attenuated Virus_बाट बनाइएको हुन्छ ।
नेपालमा हाल उपलब्ध गराइएको खोप SA-14-14-2 हो ।जे.ई. खोप सुख्खा धूलो (फ्रिज ड्राइड पाउडर)
रूपमा उपलब्ध हुन्छ । यो ५ मात्राको भाइलमा उपलब्ध हुन्छ ।
भण्डारण
जे.ई. खोप तातोसँग सम्बेदनशील भएकोले यसलाई घाम तथा प्रकाश बाट जोगाउनुपर्दछ । यो
खोपलाई +२ डिग्री देखि +८ डिग्री सेल्सियस बीचको तापक्रममा राख्नुपर्दछ ।
खोप दिने मात्रा र उमेर
यो ०.५ मि.ली. मात्र दिइन्छ । बच्चाको उमेर १२ महिना देखि २३ महिना सम्ममा एक पटक दिइन्छ ।
खोप तयार गर्ने बिधि
जे.ई. खोप पाउडरको रुपमा उपलब्ध हुने भएकोले यसलाई प्रयोग गर्नु अघि यसको घोलकसँग घोलेर
तयार पार्नु पर्दछ । जे.ई. खोपलाई घोल्दा जे.ई. खोपकै घोलक पुरै तानी घोल्नुपर्दछ । घोलक २.५
मि.ली.मा हुन्छ । यो खोप अन्य खोपको घोलक वा डिष्टिल्ड वाटरसँग घोल्नु हुँदैन । जे.ई. भ्याक्सिन
घोलेको १ घण्टापछि कुनै हालतमा पनि प्रयोग गर्नुहुँदैन । यसको लागि जेइ खोप घोल्ने बितिक्कै समय
लेख्नु पर्दछ । यसको घोलक घोल्नु अगाडि भ्याक्सिन र घोलकको तापक्रम समान हुनुपर्छ । यसको
लागि जे.ई.को घोलक पनि १ दिन अगाडि भ्याक्सिनसँगै राखी चिसो बनाउनुपर्दछ ।
खोप दिने स्थान
दायाँ तिघ्राको माथिल्लो बाहिरी भाग छाला र मासुको बीचमा
खोप दिने तरीका
यो खोप छाला र मासुको बीचमा दिइन्छ ।
खोप दिनु अगाडि बच्चालाई सही आसनमा राखी सूईलाई ४५ डिग्री कोणमा राखी छाला र मासुको बीचमा
-Subcutaneous_दिनुपर्दछ ।
जे.ई. खोप लगाएपछि हुनसक्ने असर
1. जे.ई. खोप लगाएपछि ज्वरो आउने, टाउको दुख्ने, रिंगटा लाग्ने र मांसपेशी दुख्ने जस्ता किसिमका
    असरहरु खोप लगाएका केहि जनालाई देखा पर्दछन् । यी धेरै जसो असरहरु केहि दिनसम्म मात्र
    रहन्छन् ।
जे.ई. खोप दिन नहुने अवस्थाहरुः
1. विगतमा जे.ई. खोप लिँदा गम्भीर खालको प्रतिकुल असर भएको पाइएमा ।
2.विगतमा खोपमा मिश्रित तत्वहरु जस्तै जिलाटिन र जेन्टामाइसिन, कानामाइसिन इत्यादि बिरुद्ध
    गम्भीर खालको प्रतिकूल असर भएको पाइएमा ।
3. एड्स रोगको लक्षण र चिन्हहरु देखिएका तथा प्रतिरक्षा शक्ति कमजोर भएका व्यक्तिहरुमा
4.उच्च तापक्रम (३८.५ डिग्री से.ग्रे.) भन्दा माथि ज्वरो पाइएमा खोप प्रयोग गर्नुहुदैन । तर ज्वरो कम हुने
    वित्तिकै खोप प्रयोगमा ल्याउन सकिनेछ ।
आमा/अभिभावकलाई सुझाब
जे.ई. खोप लगाएपछि ज्वरो आउने, टाउको दुख्ने, रिंगटा लाग्ने र मांसपेशी दुख्ने जस्ता किसिमका
असरहरु खोप लगाएका केहीमा मात्र देखा पर्नसक्दछ । जुन आफै हराएर जान्छ ।
याद गर्नुहोस् !
घोलेको १ घण्टा पश्चात् जे.ई. खोप प्रयोग गर्नु हुँदैन। त्यसको लागि घोलिएको प्रत्येक भाइलमा
खोलेको समय लेख्नु अनिवार्य छ । घोलेको १ घण्टा नभएपनि खोप सेसन सकिने बित्तिकै घोलेको खोप
फ्याँकिदिनुपर्दछ । घोलेको खोप अर्को सेसनमा कदापि प्रयोग गर्नु हुँदैन ।
  श्रोत : “खोप सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरुको लागि तालिम तथा कार्य सञ्चालन पुस्तिका २०७०”