स्वास्थ्य क्षेत्रमा जटिल समस्याका रूपमा देखापरेका रोगहरूमध्ये डायविटिज
अर्थात् मधुमेह पनि एक हो । यो मानिसको रहन-सहन एवं व्यवहारका कारण आइपर्ने
रोग हो । आजको युगमा मानिसमा आमूल परिवर्तन आएको छ । मानसिक तनावजस्ता
समस्याहरूका कारण संसारभरिकै विकसित-अविकसित मुलुकहरूमा यो रोग बढ्दै गएको छ
। विश्व स्वास्थ्य संगठनले सन् २०२५ सम्म डायविटिजका रोगीहरूको संख्या ३०
करोड पुग्ने दाबी गरेको छ ।
के हो डायविटिज ?
हाम्रो शरीरको रगतमा आवश्यकताभन्दा बढी चिनी अथवा ग्लुकोज जम्मा हुँदा
देखापर्ने रोगलाई मधुमेह भनिन्छ । डायविटिज शरीर गल्ने दीर्घ रोग हो ।
एकपटक लागेपछि यो रोगबाट छुटकारा पाउन गाह्रो छ । यद्यपि यसप्रति सचेत
हुनसके सामान्य जीवन बिताउन सकिन्छ । हामीले खाएको धेरैजसो खाना ग्लुकोजमा
परिवर्तन भएर शरीरलाई शक्ति दिने काम गर्छ । खाना खाएपछि सबैभन्दा पहिले
पेटमा पुग्छ, जहाँ पचाउने कार्य हुन्छ । पेटबाट खाना सानो आन्द्रामा पुग्छ ।
त्यहाँ पचाउने काम पूरा भै त्यो कार्बोहाइड्रेट (स्टार्च) चिल्लो पदार्थ
बोसो र प्रोटिन -अमिनो एसिड) जस्ता रसमा परिवर्तन भएर आन्द्राको भित्ता
हुँदै रगतमा पुग्छ ।
इन्सुलिनले के गर्छ ?
हाम्रो पेटमा प्यांक्रियाज भन्ने अङ्ग हुन्छ जसमा बिटा सेलहरू हुन्छन् ।
बिटा सेलमा इन्सुलिन हार्मोन उत्पादन हुन्छ । यही इन्सुलिन हार्मोनले रगतमा
भएको ग्लुकोजलाई कोषभित्र प्रवेश गराई शक्ति प्रदान गर्छ । कुनै कारणले
शरीरमा इन्सुलिन कम हुन्छ, ग्लुकोजको शरीरका कोष अथवा तन्तुको भित्र पस्न
सक्दैन । रगतमा ग्लुकोजको मात्रा बढेर १ सय ८० मिलिग्राम प्रतिशतको तह नाघी
अथवा ग्लुकोजले शरीरमा काम गर्न नपाई पिसाबबाट जान्छ । यस्तो अवस्थामा
पिसाबमा ग्लुकोज देखापर्छ ।
पिसाबमा ग्लुकोज देखापरेपछि बढी पिसाब लाग्नु स्वाभाविक हो । ग्लुकोजले
शरीर भित्रको पानी खिचेर ल्याउँछ । यसरी बढी पिसाब भएपछि शरीर सुख्खा भएर
तिर्खा लाग्छ । शरीरमा प्रशस्त ग्लुकोज भए पनि प्रयोगमा नआएपछि कोषहरू भोकै
हुन्छन् । कोषहरूले कहिल्यै ठीक मात्रामा खाना पाउँदैनन् । त्यसैले
डायविटिजका रोगीलाई जति खाना खाए पनि भोक लाग्छ । यस्तो स्थितिमा शरीरको
शक्तिका लागि आफ्नै शरीरको प्रोटिन र बोसोलाई ग्लुकोजमा परिवर्तन गरी
प्रयोगमा लिन्छ, जसले गर्दा डायविटिजको रोगी दुब्लाउँदै जान्छ, साथै
रोगीलाई बढी थकान महसुस हुन्छ ।
शरीरले कसरी शक्ति पाउँछ ?
शरीरले तीन पदार्थद्वारा शक्ति पाउँछ । पहिलो कार्बोहाइड्रेट स्टार्च जस्तै
भात, आलु, मिठाईं, केरा आदि । शरीरको शक्तिको मुख्य स्रोत कार्बोहाइड्रेट
हो । एक ग्राम कार्बोहाइड्रेटले चार क्यालोरी शक्ति दिन्छ । धेरैजसो खाना
पचिसकेपछि त्यो शक्ति ग्लुकोजमा परिवर्तित भै रगतमा पस्छ अनि त्यसले
इन्सुलिन निकासका लागि प्यांक्रियाजलाई उत्तेजित गर्छ । यदि शरीरलाई
तुरुन्त शक्तिको आवश्यकता छैन भने यही ग्लुकोज कलेजो अथवा मांसपेशीमा
इन्सुलिनको सहयोगद्वारा ग्लाइकोजिनका रूपमा जम्मा हुन्छ । शरीरमा चाहिने ५०
प्रतिशतदेखि ६० प्रतिशत शक्ति कार्बोहाइड्रेटबाट उपलब्ध हुनुपर्छ तर यसका
लागि साधारण चिनीबाट बनेका खानेकुरा, गुलियो डब्बा बन्द पेयपदार्थ, जाम आदि
सेवन गर्नुहुँदैन ।
शरीरको शक्तिका लागि दोस्रो महत्त्वपूर्ण खाद्य चिल्लो पदार्थ -बोसो हो ।
यो दूधबाट उत्पादित घिउ, तेल बोसो आदिमा पाइन्छ । एक ग्राम बोसोले ९
क्यालोरी शक्ति दिन्छ । चिल्लो पदार्थ पसिसकेपछि फ्याटी एसिडमा परिवर्तित
भएर भविष्यको शक्तिका लागि अडिपोस टिस्युमा जम्मा हुन्छ । जब ग्लुकोजको अति
नै आवश्यकता पर्छ तब यही फ्याटी एसिड ग्लुकोजमा परिवर्तन हुन्छ । तेस्रो
शक्ति प्रोटिन जस्तै मासु, माछा, दूध वा दूधबाट बनाइएका परिकार, गेडागुडी
आदिबाट पाइन्छ । एक ग्राम प्रोटिनले चार क्यालोरी दिन्छ । प्रोटिन
पचिसकेपछि अमिनो एसिडमा परिवर्तित भएर रगतमा पुग्छ । बढी भए कलेजोमा जम्मा
भैरहन्छ । जब ग्लुकोजको जति आवश्यकता हुन्छ तब कलेजोमा जम्मा भएको अमिनो
एसिड पनि ग्लुकोजमा परिणत हुन्छ ।
डायविटिजको लक्षण
साह्रै भोक लाग्नु, पिसाब लाग्नु, हातखुट्टा झमझमाउनु, पोल्नु, तिर्खा
लाग्नु, मुख सुक्नु, शरीरमा रगत कम हुनु, मुख फुल्नु, आँखावरिपरि फुल्नु,
आँखाको ज्योतिमा कमी आउनु, कहिलेकाहीँ एक्कासि केहीबेरका लागि आँखा
नदेख्नु, रक्तनलीहरू साँघुरिनु, हातखुट्टाका औंलाहरू बाउँडिनु, पिँडौला
धेरै दुख्नु, छाला धेरै सुख्खा हुनु, बारम्बार पिलो, बालतोड आउनु, लामो समय
थकाइ अथवा कमजोरी महसुस हुनु, घाउहरू अथवा रोगहरू चाँडै निको नुहुनु,
बिनाकारण दुब्लाउँदै जानु, यौन क्षमता घट्नु आदि डायविटिजका लक्षण हुन् ।
हानी
डायविटिज भएपछि जति लापरबाही गरिन्छ त्यति नै यसको खराब असर आँखा, मृगौला,
मुटु नसाहरू एवं रगतका नलीहरूमा पर्छ । यसबाहेक उच्च रक्तचाप, नसा कमजोर
हुनु, आँखाको ज्योति जानु, घाउ वा अन्य रोग निको हुन बढी समय लाग्नु, पखाला
लाग्नु, मृगौला खराब हुनु, हृदयाघात, पक्षघात, श्रवण शक्ति क्षीण हुनु
डायविटिजबाट हुने हानि हुन् ।
डायविटिजका किसिम
डायविटिज दुई किसिमका हुन्छन् : पहिलो प्रकार र दोस्रो प्रकार ।
पहिलो प्रकारको डायविटिज मेलिटस अथवा इन्सुलिनमा भर पर्नुपर्ने
डायविटिज हुनुको मुख्य कारण शरीरमा इम्युनिटीको गडबडी हो । यसमा कुनै
कारणले गर्दा प्यांक्रियाजबिना सेलबाट इन्सुलिन उत्पादन हुँदैन अनि उपचारका
लागि इन्सुलिन नै दिनुपर्ने हुन्छ । यस किसिमका बिरामीहरू अक्सर
दुब्ला-पातला हुन्छन् । यस्तो रोग धेरैजसो २० वर्ष पुग्नुअघि नै पत्ता
लाग्छ तर यो कुनै पनि समयमा हुनसक्छ । साथमा रगतमा किटोन पनि हुनसक्छ ।
दोस्रो प्रकारको डायविटिज मेलिटसमा प्यांक्रियाजबाट केही मात्रामा
इन्सुलिन उत्पादन हुन्छ तर शरीरले यसलाई प्रयोगमा ल्याउन सक्दैन । यस्तो
किसिमको प्रभाव अक्सर ४० वर्षपछि अथवा कुनै कारणले शरीर जाँचको सिलसिलामा
देखापर्छ । यसको उपचारका लागि ट्याब्लेटमा भर पर्नुपर्ने हुन्छ । यसो
हुनुको मुख्य कारण जेनेटिक अथवा वंशानुगत हो । दोस्रो प्रकारको डायविटिज ९०
प्रतिशतभन्दा बढी नै हुन्छ । यस किसिमको डायविटिज अक्सर मोटो मानिसलाई
हुन्छ जसको तौल चाहिनेभन्दा बढी हुन्छ ।
अरू किसिमका डायविटिज
गर्भधारण भएको अवधिमा हुने मधुमेह धेरैजसो प्रौढ उमेरका गर्भवती महिलाहरूमा पाइन्छ । हरेक antenatal जाँचमा
महिलाको पिसाबमा ग्लुकोज र प्रोटिन हेर्नु आवश्यक हुन्छ । डायविटिज भएपछि
बाँझोपन हुने सम्भावना हुन्छ । यो गर्भावस्थामा कसै-कसैलाई देखापर्छ र
शिशु जन्मिएपछि अक्सर साधारण अवस्थामा आउँछ ।
कुपोषणसम्बन्धी डायविटिज :
खानामा प्रोटिनको कमी, रक्सी सेवन अथवा पोषणतत्वको कमीले हुन्छ । चिनी
रोगका लक्षणहरू नभए पनि खानापछि रगतमा ग्लुकोजको मात्रा धेरै हुने हुँदा
खानपिनमा परहेज गर्नुपर्छ । खाली पेटमा ग्लुकोज बढ्नेहरू भन्दा पेस्ट
प्राण्डलमा -खाना खाएको दुई घन्टापछि) ग्लुकोज बढ्नेहरूको छिटो मृत्यु हुने
कारण पनि यही हो ।
कसलाई हुनसक्छ ?
चालीस वर्षपछि जसको पटक-पटक गर्भपतन हुन्छ, जुम्ल्याहा दाजुभाइ वा
दिदीबहिनी हुनु, बढी वजन अथवा धेरै मोटो भए, पुख्र्यौली अथवा वंशानुगत,
शारीरिक आघात र चिन्तामा डायविटिज देखापर्न सक्छ । महिलाले ९ पाउन्डभन्दा
बढी वजन भएको शिशु जन्माउँदा नियमित व्यायाम नगरी अथवा एक्लो जिन्दगी
बिताउनेहरूमा पनि डायविटिज देखापर्न सक्छ जसले पिसाब लगाउने औषधि, परिवार
नियोजनका लागि प्रयोग गरिने चक्की आदि सेवन गरिरहेका हुन्छन् । रगतमा
हार्मोन धेरै हुने केही रोगीमा पनि डायविटिजको सम्भावना हुन्छ ।
कसरी थाहा पाउने ?
१. रगत जाँच
क) ग्लुकोज खाली पेटमा रगत जाँच्दा १ सय २६ मिलिग्राम प्रतिशत र
साबिक खाना खाए २ घन्टापछि रगत जाँच्दा १ सय ४० मिलिग्राम प्रतिशत नाघ्यो
भने डायविटिज लाग्यो भन्ने थाहा पाउनुपर्छ । सुगरका अतिरिक्त लिपिड
प्रोफाइल, ट्राइग्लिसराइड, युरिया, क्रियटिनिन, प्रोटिन, किटोन, पोटासियम,
इलेक्ट्रोलाइट आदि पनि जाँच गराई आवश्यक उपचार गर्नुपर्छ ।
ख) Glycosylated haemoglobin : यसले केही महिनाअघिको रगत चिनीको
मात्रा देखाउँछ । नियन्त्रित अवस्थामा रगत जाँच महिनामा एक वा दुई पटक गरे
पुग्छ तर अनियन्त्रित अवस्थामा चिकित्सकको सल्लाहमा नियमित जाँच
गराइरहनुपर्छ ।
ग) Oral glucose टेस्ट : यो अक्सर मधुमेह रोग पत्ता लगाउन ग्लुकोज ख्वाएर गरिने रक्त परीक्षण हो ।
२. पिसाब जाँच : जब शरीरमा चिनीको मात्रा १ सय ८० मिलिग्राम प्रतिशत
नाघ्छ अनि पिसाबमा ग्लुकोज देखापर्छ । त्यस्तै रगतमा धेरै ग्लुकोज छ भने
पिसाबमा किटोन पनि छ कि भनेर जाँच गर्नुपर्छ । यदि किटोन देखापर्योब भने
यसलाई गम्भीरतापूर्वक लिनुपर्छ । यस्तो स्थितिमा बिरामीको मृत्यु पनि
हुनसक्छ । यो अक्सर इन्सुलिन लिनुपर्नेहरूलाई हुनसक्छ ।
३. ईसीजी र एक्सरे जाँचद्वारा मुटुको अवस्था एवं एक्सरेद्वारा छातीको अवस्था ठीक छ-छैन भन्ने कुरा पत्ता लगाउन सकिन्छ ।
उपचार
सन्तुलित खाना, शारीरिक व्यायाम, औषधि सेवन र इन्सुलिन इन्जेक्सनका
अतिरिक्त डायविटिजमा योग पनि धेरै फाइदाजनक साबित भएको छ । डायविटिजको
उपचार भन्नु नै रगतमा चिनीको मात्रा सामान्य अवस्थामा ल्याउनु हो । एकपटक
डायविटिज भएपछि पूरा निको हुन सक्दैन । उपचार गरेर शरीरलाई साधारण अवस्थामा
राख्न सकियो भने डायविटिजबाट हुने हानि हटाउन सकिन्छ । डायविटिज ठीक
राख्नमा खानेकुराकै मुख्य भूमिका हुन्छ । डायविटिजका लागि विशेष खालको खाना
आवश्यक छैन । खाना नुन, चिल्लो, गुलियो आदि कम प्रयोग गरिएको तथा
रेसायुक्त हुनुपर्छ । मोटा कुपोषणका सिकार एवं व्यायाम गर्ने वयस्कहरू
जसलाई दोस्रो प्रकारको डायविटिज हुन लागेको छ उनीहरू शरीरको तौल घटाएर पनि
डायविटिजबाट बच्न सक्छन् । साँच्चै भन्ने हो भने ब्यालेन्स डाइट र
व्यायामले मात्रै ६० वर्ष नाघेका मानिसहरूलाई डायविटिजबाट बचाउन ठूलो सहयोग
गर्छ । बढी वजन भएका तथा रगतमा चिनीको मात्रा बढेर दोस्रो प्रकारको
डायविटिज हुन लागेकाहरूका हकमा चिल्लो कम खानाले र व्यायामका साथै औषधि
सेवनले नाटकीय ढंगबाट ८५ प्रतिशतसम्म डायविटिज घटेको पाइन्छ ।